उद्योगी–व्यवसायीको शान्ति र सामाजिक सद्भाव कायम गर्न संयुक्त अपिल

३ हप्ता अगाडि
उद्योगी–व्यवसायीको शान्ति र सामाजिक सद्भाव कायम गर्न संयुक्त अपिल

काठमाडौं । सुनसरी, सिरहा र धनुषालगायतका जिल्लामा विकसित तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ (सीएनआई) ले सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।

दुवै संस्थाले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन, हिंसा र झडपबाट कुनै पनि समस्याको समाधान नहुने भएकाले संयमता अपनाएर संवाद र सहमतिमार्फत विवाद समाधान गर्नुपर्ने बताएका हुन्।

महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक सहअस्तित्वको उदाहरण रहेको उल्लेख गर्दै सामाजिक अशान्ति, हिंसा र मुठभेडले कसैको हित नगर्ने बताएका छन्।

उनले अहिलेका घटनाले सर्वसाधारणको दैनिक जीवन, उद्योग–व्यवसाय, व्यापार तथा समग्र अर्थतन्त्रमा गम्भीर नकारात्मक असर परेको भन्दै सामाजिक सद्भाव र शान्ति नै आर्थिक विकासको आधार भएको उल्लेख गरेका छन्।

सीएनआईले पनि धार्मिक सहिष्णुता, सामाजिक एकता र शान्ति कायम राख्न सबै पक्षलाई आग्रह गर्दै मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला यस्ता घटनाले लगानी, रोजगारी र आर्थिक गतिविधिमा थप नकारात्मक प्रभाव पार्ने जनाएको छ।

परिसंघले जनधनको क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोड, बजार बन्द र लुटपाटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उद्योग–व्यवसाय र नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ।

साथै, सामाजिक सद्भाव कायम गर्न प्रदेश तथा जिल्ला तहका आफ्ना सदस्य संस्था र निजी क्षेत्रका संघसंस्थालाई सद्भाव र्‍याली तथा शान्ति प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न पनि आह्वान गरिएको छ।