काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दै तराई-मधेशसहित देशका विभिन्न क्षेत्रमा विकसित सुरक्षा अवस्थाबारे जानकारी गराएका छन्।
बिहीबार साँझ शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले सुनसरी, सिरहा लगायत जिल्लामा देखिएको तनाव, शान्ति–सुरक्षा कायम गर्न सरकारले चालेका कदम तथा सुरक्षा निकायको परिचालनबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका हुन्।
शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्रीले तराई–मधेशमा उत्पन्न तनावलाई नियन्त्रणमा लिन नेपाली सेनासहित सुरक्षा निकाय परिचालन गरिएको तथा समग्र सुरक्षा अवस्थाबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। राष्ट्रपति नेपाली सेनाका परमाधिपति समेत हुन्।
यसअघि बिहीबार दिउँसो प्रधानमन्त्री शाहको अध्यक्षतामा पहिलो पटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो। त्यसलगत्तै उनले राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा शान्ति, सुरक्षा र कानुनी शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार देशका विभिन्न स्थानमा हिंसात्मक गतिविधि बढ्दै गएको अवस्थाप्रति चासो व्यक्त गर्दै राष्ट्रपति पौडेलले प्रधानमन्त्रीलाई शीतल निवास बोलाएका थिए।
भेटका क्रममा राष्ट्रपति पौडेलले राजनीतिक दल, नागरिक समाज तथा सबै सरोकारवालासँग समन्वय र सहकार्य गर्दै संयमतापूर्वक वर्तमान परिस्थितिको समाधान खोज्न सुझाव दिएका छन्।
साथै उनले मुलुकमा उत्पन्न विषम अवस्थालाई यथाशीघ्र सामान्य बनाउँदै शान्ति–सुव्यवस्था पुनःस्थापित गर्न, नागरिकले सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था सुनिश्चित गर्न सरकारलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।