काठमाडौं । विभिन्न पाँचबुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनसन शुक्रबार पनि जारी राखेका छन्।
‘लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति’को नेतृत्वमा मंगलबारदेखि सुरु भएको अनसनमा सहभागीहरूले वित्तीय शोषणको अन्त्य र सामाजिक न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
आन्दोलनरत पक्षले सर्वोच्च अदालतको परमादेशअनुसार लघुवित्त पीडितसम्बन्धी तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने मागलाई प्रमुख प्राथमिकतामा राखेको छ।
संघर्ष समितिले विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने, गरिब, मजदुर, सुकुम्बासी र किसानलाई ब्याज छुटसहित निःशुल्क ऋण उपलब्ध गराउनुपर्ने तथा नागरिकको क्षमता र आवश्यकताअनुसार रोजगारी र उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेको छ।
त्यसैगरी निजी बैंक तथा वित्तीय संस्थाको अन्त्य गरी समाजवादी आर्थिक व्यवस्था लागू गर्नुपर्ने दीर्घकालीन मागसमेत समितिले प्रस्तुत गरेको छ। माग पूरा नभएसम्म आमरण अनसनसहितका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी पनि संघर्ष समितिले दिएको छ।