काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले तराई–मधेशका केही क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारालाई कायम राख्न सबै नागरिकसँग अपिल गरेका छन्।
शुक्रबार भिडियो सन्देश जारी गर्दै आईजीपी कार्कीले नेपाल विविधतामा एकताको गौरवशाली इतिहास बोकेको देश भएको उल्लेख गरे। धर्म, भाषा, जातजाति र संस्कृतिको विविधताबीच नेपालीहरू आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ सँगै बाँच्दै आएको उनले बताए।
कार्कीले पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा सर्वसाधारणमा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिएकोप्रति दुःख व्यक्त गरे। उनले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुन उल्लंघन गर्ने कार्यले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउने बताए । ‘सामाजिक एकतामा खलल पुग्ने गरी सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानुनको उल्लंघन गर्ने कार्य कसैको पनि हितमा हुँदैन। यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउँछन्,’ आईजीपी कार्कीले सन्देशमा भनेका छन्।
उनले संवेदनशील परिस्थितिमा अफवाह र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो रोज्न तथा एकअर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्न सबैलाई आग्रह गरे।
‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ,’ उनले भने।
आईजीपी कार्कीले नेपाल प्रहरी शान्ति सुरक्षा कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको दोहोर्याउँदै सबै समुदायलाई संयमता अपनाउन आग्रह गरे। उनले एकअर्काको संस्कृति, संस्कार र आस्थाको सम्मान गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारालाई सुदृढ बनाउन सम्पूर्ण नेपालीमा अपिल गरेका छन्।