सिराहामा ७ बुँदे सहमति, गणेश यादवलाई सहिद घोषणा प्रक्रिया अघि बढाइने (सम्झौतापत्रसहित)

३ हप्ता अगाडि
सिराहामा ७ बुँदे सहमति, गणेश यादवलाई सहिद घोषणा प्रक्रिया अघि बढाइने (सम्झौतापत्रसहित)

सिराहा । सिराहाको गोलबजार क्षेत्रमा साउन १४ गते भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ। शुक्रबार औरही गाउँपालिका-२, मोतिपुरमा मृतकका अभिभावक र गृह मन्त्रालयका प्रतिनिधिबीच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो।

सहमतिअनुसार सरकारले मृतक गणेश यादवलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

त्यस्तै, साउन १४ गते गोलबजार बजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख गरिएको छ। साथै, मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने पनि सहमतिमा समेटिएको छ।

घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस कानुनबमोजिम कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।

यसबाहेक, मृतक गणेश यादवको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने र पार्कभित्र उनको सालिक स्थापना गर्ने सहमति पनि भएको छ।

सहमतिपत्रमा मृतकको अन्त्येष्टि गर्ने, उनकी श्रीमती र बहिनीलाई उपयुक्त रोजगारी उपलब्ध गराउन पहल गर्ने तथा उनका बुवाको उपचारका लागि आवश्यक पहल गर्ने विषयसमेत समावेश गरिएको छ।

दुई पक्षबीच सहमति भएपछि सिरहाको अवस्था हाल शान्त रहेको बताइएको छ।