काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन तथा निजी क्षेत्रको आत्मविश्वास फर्काउन सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय भइसकेको उल्लेख गर्दै अब सरकारको मुख्य प्राथमिकता त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने बताएका हुन्।
मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानलाई सबैभन्दा नजिकबाट बैंकिङ क्षेत्रले अनुभूति गर्ने भएकाले बजेट कार्यान्वयन र आर्थिक समस्या समाधानमा बैंकरहरूको सुझाव महत्त्वपूर्ण हुने बताए।
छलफलका क्रममा उनले वर्तमान आर्थिक अवस्थाका केही विरोधाभासप्रति पनि चासो व्यक्त गरे। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहँदा र कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्यून भए पनि कर्जा प्रवाह बढ्न नसक्नु तथा निजी क्षेत्र लगानी विस्तारमा हिच्किचाउनु चिन्ताको विषय भएको उनको भनाइ थियो।
‘सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध केवल नियामक र नियन्त्रित निकायको मात्र होइन, साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘आर्थिक वृद्धि, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रा साझा उद्देश्य हुन्। जहाँ कानुनी वा प्रक्रियागत सुधार आवश्यक पर्छ, त्यहाँ सरकार निर्णय लिन पछि हट्दैन।’
उनले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै छलफलमा आएका सुझावलाई कार्यान्वयनयोग्य योजनामा रूपान्तरण गरिने विश्वास दिलाए।