काठमाडौं । पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका कीर्तिमानी नेपाली आरोही पुरबहादुर गुरुङ (युक्त) को शव आज नेपाल ल्याइँदैछ।
वरिष्ठ पर्वतारोही तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले कतार एयरवेजमार्फत शव काठमाडौं ल्याउँदैछन्। युक्त गुरुङले १० पटक सगरमाथा आरोहण गर्दै शेर्पा समुदायबाहेक सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने नेपालीको कीर्तिमान बनाएका थिए।
यस वर्ष मात्रै उनले अन्नपूर्ण-१, सगरमाथा र ल्होत्से आरोहण गरेका थिए भने १४ मध्ये १२ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक चढिसकेका थिए।
उनको अन्त्येष्टि शुक्रबार गुरुङ परम्पराअनुसार स्वयम्भूमा गरिनेछ भने जन्मगाउँ लाप्राकमा श्रद्धाञ्जलीस्वरूप दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।