संसद्मा कालो चस्मा लगाउन रोक, सभामुखको ड्रेसकोड पालना गर्न निर्देशन

२ हप्ता अगाडि
संसद्मा कालो चस्मा लगाउन रोक, सभामुखको ड्रेसकोड पालना गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई संसद् बैठकमा कालो चस्मा नलगाउन निर्देशन दिएका छन्। संसद्को गरिमा, अनुशासन र मर्यादा कायम राख्ने उद्देश्यले सभामुखले तोकिएको ड्रेसकोड पालना गर्न निर्देशन दिएका हुन्।

पछिल्लो समय प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्साल तथा सांसद खगेन्द्र सुनारलगायत रास्वपाका नेताहरू संसद्मा समेत कालो चस्मा लगाएर उपस्थित हुने गरेका थिए। उनीहरूको यही शैली संसद्भित्र बहसको विषय बनेपछि सभामुखले हस्तक्षेप गरेका हुन्।

सभामुखका स्वकीय सचिव नवराज पाण्डेका अनुसार सांसदहरूले तोकिएको पोशाक र सांसदको आधिकारिक लोगो अनिवार्य रूपमा लगाउनुपर्नेछ तर संसद् बैठकमा कालो चस्मा लगाउन पाइने छैन।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को गरिमा, सांसदहरूको अनुशासन र बैठक सञ्चालनका विषयमा छलफल भएको थियो। त्यसक्रममा सभामुख अर्यालले सबै दलका प्रमुख सचेतक र सचेतकहरूलाई आफ्ना सांसदबाट ड्रेसकोड र संसदीय अनुशासन कडाइका साथ पालना गराउन निर्देशन दिएका थिए।