काठमाडौं । गृहमन्त्री सुधन गुरुङले संसद्मा निर्मला पन्त हत्या प्रकरणबारे बारम्बार प्रश्न नउठाउन सांसदहरूसँग आग्रह गरेका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले उक्त घटनाबारे प्रश्न उठाएपछि गृहमन्त्री गुरुङले भावुक प्रतिक्रिया दिएका हुन्।
उनले निर्मला पन्तको हत्या अत्यन्तै संवेदनशील विषय भएको उल्लेख गर्दै संसद्मा पटक-पटक चर्चा गर्दा पीडित परिवारको घाउ झन् बल्झिने बताए। उनले सांसदहरूलाई प्रश्न गर्दै भने, “तपाईंहरू सत्तामा हुँदा किन गर्नुभएन? अहिले हामीलाई मात्रै त्यो भारी बोकाउने? एउटी आमाको घाउ बारम्बार कोट्याएर के उपलब्धि हुन्छ?”
गृहमन्त्री गुरुङले सरकारले घटनाको अनुसन्धान अत्यन्तै सूक्ष्म र चरणबद्ध रूपमा अघि बढाइरहेको दाबी गर्दै चाँडै नतिजा सार्वजनिक गरिने बताए। उनले अनुसन्धानको गोपनीयताका कारण सदनमै सबै कुरा खुलाउन नमिल्ने उल्लेख गर्दै आवश्यक जानकारी व्यक्तिगत रूपमा उपलब्ध गराउन आफू तयार रहेको बताए।
उनले निर्मलाकी आमाको पीडालाई सम्मान गर्नुपर्नेमा जोड दिँदै घटनालाई राजनीतिक बहसको विषय बनाउन नहुने धारणा राखे। “आमाको पीडामा मलम लगाउनुको सट्टा बारम्बार छोरीको सम्झना कोट्याइरहनु मेरो नैतिकताले दिँदैन,” उनले भने।
गृहमन्त्री गुरुङले देशभर हुने हत्या, हिंसा, बलात्कारलगायत सबै गम्भीर अपराधको अनुसन्धान सरकारले प्राथमिकताका साथ गरिरहेको पनि बताए।