कीर्तिमानी आरोही युक्त गुरुङलाई अन्तिम बिदाइ, स्वयम्भूमा सम्मानसाथ अन्त्येष्टि

२ हप्ता अगाडि
कीर्तिमानी आरोही युक्त गुरुङलाई अन्तिम बिदाइ, स्वयम्भूमा सम्मानसाथ अन्त्येष्टि

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा ज्यान गुमाएका कीर्तिमानी नेपाली आरोही पुरबहादुर गुरुङ (युक्त) लाई शुक्रबार काठमाडौंको स्वयम्भूमा श्रद्धापूर्वक अन्तिम बिदाइ गरिएको छ।

उनको शवयात्रापछि गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको हो। बिहीबार अपराह्न पाकिस्तानबाट काठमाडौं ल्याइएको उनको पार्थिव शरीरमा गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए भने नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए। युक्त गुरुङ नेपाली कांग्रेसका सदस्यसमेत थिए।

ब्रड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा युक्तासहित १० जना आरोहीको ज्यान गएको थियो। पर्वतारोहण क्षेत्रमा उल्लेखनीय योगदान दिएका युक्तले जीवनकालमा १० पटक सगरमाथा आरोहण गर्दै शेर्पा समुदायबाहेक सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने नेपालीको कीर्तिमान कायम गरेका थिए।

उनको निधनप्रति देशभरबाट श्रद्धाञ्जली व्यक्त भइरहेका बेला जन्मगाउँ गोरखाको लाप्राकमा स्थानीय बासिन्दाले दीप प्रज्वलन गरेर सामूहिक श्रद्धाञ्जली अर्पण गरेका छन्। कीर्तिमानी आरोहीको असामयिक निधनले पर्वतारोहण क्षेत्रसँगै समग्र देश नै शोकमा डुबेको छ।