काठमाडौं । एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा सुरुङमार्ग सोमबारदेखि निजी सवारीका लागि पनि सञ्चालनमा आएको छ।
९ जनासम्म यात्रु क्षमताका कार, जीप र भ्यानलाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सुरुङमार्ग प्रयोग गर्न दिइएको हो। परीक्षणका रूपमा निजी सवारीलाई प्रवेश दिइएको र हाल कुनै शुल्क नलाग्ने सुरुङमार्ग सुरक्षा युनिटले जनाएको छ।
सुरुङभित्र प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा चलाउन, ओभरटेक गर्न र सवारी रोक्न निषेध गरिएको छ। हेडलाइट अनिवार्य गरिएको छ। पैदलयात्री, दुईपांग्रे तथा प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने प्रवेश निषेध गरिएको छ।
करिब २९ अर्ब रुपैयाँ लागतमा बनेको सुरुङमार्गको मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ।