काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई भेट्न समय मागेका छन्।
थापाले देउवाका स्वकीय सचिव भानु देउवालाई फोन गरी भेटको समय मिलाइदिन आग्रह गरेका हुन्। पार्टीभित्रको विवाद समाधान गर्ने उद्देश्यले भेटवार्ता गर्न खोजिएको महामन्त्री प्रदीप पौडेलले बताएका छन्।
तर, देउवाले अहिलेसम्म भेटका लागि समय दिएका छैनन्। हङकङबाट फर्किएपछि देउवा आफ्ना निकट नेताहरूसँग नियमित भेटघाट गर्दै आए पनि नयाँ पदाधिकारीसँग भेट्न अनिच्छुक देखिएका छन्।
देउवा पक्षले गगन थापाले अघि सारेको १५औँ महाधिवेशनको कार्यतालिका रोक्न सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको छ। आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले तत्काल भेटवार्ताको वातावरण नबनेको नेताहरू बताउँछन्।