काठमाडौं । सांसदहरूले मुलुकको कूटनीतिक अवस्था, स्वास्थ्य, पूर्वाधार, बाढी–पहिरो र सार्वजनिक सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद जगत तिमल्सिनाले ३१ मध्ये २१ वैदेशिक नियोग राजदूतविहीन रहेको भन्दै कूटनीतिक प्रतिनिधित्व कमजोर बनेको बताए।
सांसद खम्मबहादुर खातीले बाजुराको मार्तडीमा विशेषज्ञ चिकित्सकको अभाव रहेको बताए भने रेखाकुमारी झाले जनकपुर प्रादेशिक अस्पतालमा चिकित्सकको लापरबाहीका कारण सुत्केरी महिलाको मृत्यु हुने गरेको गुनासो गरिन्।
रोशनी मेचेले झापामा जापानी इन्सेफ्लाइटिसको संक्रमण बढेको भन्दै तत्काल नियन्त्रणका लागि पहल गर्न माग गरिन्। धर्मेन्द्र पासवानले रौतहटको लालबकैया नदीको बाँध भत्किने जोखिम रहेको बताए।
सांसद वासुदेव घिमिरेले काठमाडौंमा वसन्त कालाथोकीको मृत्यु र उनकी आमाको आत्महत्याको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे।