संगठनको निर्वाचनमा बद्री रिजाल अग्रस्थानमा, मतगणना जारी

४ हप्ता अगाडि
संगठनको निर्वाचनमा बद्री रिजाल अग्रस्थानमा, मतगणना जारी

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)को जारी निर्वाचनमा मतगणना तीव्र रूपमा अघि बढिरहेको छ। हालसम्म करिब ५ हजार ९६५ मतपत्र गणना सम्पन्न हुँदा अध्यक्ष पदमा डा. बद्री रिजाल अग्रस्थानमा देखिएका छन्। उनले २,६६९ मत (४५.३० प्रतिशत) प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी डा. मंगल रावलले २,५०७ मत (४२.५५ प्रतिशत) प्राप्त गरेका छन्। हालसम्मको परिणाम अनुसार रिजाल १६२ मतले अघि रहेका छन्।

यसै पदमा डा. नारायण प्रसाद भुसाल ७१६ मत (१२.१५ प्रतिशत) सहित तेस्रो स्थानमा रहेका छन्।

वरिष्ठ उपाध्यक्ष पदमा डा. संजीव तिवारी २,४९२ मत (४३.८२ प्रतिशत) सहित अग्रस्थानमा छन्। उनलाई डा. किर्तीपाल सुबेदीले १,९५४ मत (३४.३६ प्रतिशत) सहित पछ्याइरहेका छन् भने डा. अजय कुमार मिश्र १,२४१ मत (२१.८२ प्रतिशत) सहित तेस्रो स्थानमा छन्।

महासचिव पदतर्फ डा. विश्वराज दवाडी २,२५९ मत (३९.५५ प्रतिशत) सहित अगाडि रहेका छन् भने डा. कालु सिंह खत्री २,०७१ मत (३६.२६ प्रतिशत) सहित पछ्याइरहेका छन्। डा. अमृत भुसाल १,३८२ मत (२४.१९ प्रतिशत) सहित तेस्रो स्थानमा छन्।

प्रदेशगत उपाध्यक्षतर्फ कोशीमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र, बागमतीमा डा. सुभाष भट्टराई, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. नन्दा कुमारी गुरुङ, कर्णालीमा डा. रबिन खड्का र सुदूरपश्चिममा डा. प्रमोद जोशी अग्रस्थानमा रहेका छन्।

 

कोषाध्यक्ष पदमा डा. संयुक्ता आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल अगाडि देखिएका छन्।

सदस्य पदका लागि ६ जना चयन हुने व्यवस्थाअनुसार डा. अमित झा, डा. राकेश शाह, डा. पल्पसा श्रेष्ठ, डा. सुष्मित काफ्ले, डा. शेषराज घिमिरे र डा. बिना श्रेष्ठ हालसम्म अग्रस्थानमा रहेका छन्।

निर्वाचन समितिका अनुसार केही मत बदर भएका छन् भने बाँकी मतगणना जारी छ। अन्तिम परिणाम आउन अझ केही समय लाग्ने बताइएको छ।