पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन सात बिरामीको सफल एन्जियोप्लास्टी

२ हप्ता अगाडि
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन सात बिरामीको सफल एन्जियोप्लास्टी

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मुटुरोग उपचार सेवामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । अस्पतालको मुटुरोग विभागले एकैदिन सात जना बिरामीको सफल एन्जियोप्लास्टी गर्दै नयाँ रेकर्ड कायम गरेको हो ।

अस्पतालका अनुसार उपचारका क्रममा दुर्लभ संयोगसमेत देखिएको थियो । एकै परिवारका आमा र छोरा, जसलाई एकै समयमा हृदयघात भएको थियो, उनीहरूको पनि सोही दिन सफल एन्जियोप्लास्टी गरिएको छ । गम्भीर अवस्थामा अस्पताल पुगेका दुवै जनाको सफल उपचारपछि जीवन रक्षा गरिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य सेवामा जटिल र संवेदनशील मानिने क्याथल्याब सेवामार्फत एकैदिन सात बिरामीको उपचार सम्पन्न हुनुलाई पोखराको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धिका रूपमा हेरिएको छ ।

यस सफलतापछि मुटुरोग विशेषज्ञ चिकित्सक, नर्सिङ स्टाफ तथा क्याथल्याब टोलीको चौतर्फी प्रशंसा भइरहेको छ । अस्पताल प्रशासन तथा स्थानीयवासीले उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति धन्यवाद व्यक्त गरेका छन् ।