कंगोमा इबोला संक्रमण फैलिँदा ८० जनाको मृत्यु, डब्ल्यूएचओद्वारा स्वास्थ्य आपत्‌काल घोषणा

२ हप्ता अगाडि
कंगोमा इबोला संक्रमण फैलिँदा ८० जनाको मृत्यु, डब्ल्यूएचओद्वारा स्वास्थ्य आपत्‌काल घोषणा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कंगोमा फैलिएको इबोला संक्रमणलाई विश्वव्यापी स्वास्थ्य आपत्‌कालका रूपमा घोषणा गरेको छ। पूर्वी कंगोको इटुरी प्रान्तमा फैलिएको संक्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भएको बताइएको छ भने सयौँ व्यक्ति निगरानीमा राखिएका छन्।

कंगो सरकारका अनुसार हाल २४६ जना शंकास्पद बिरामीको पहिचान गरिएको छ। संक्रमण पहिलोपटक अप्रिल २४ मा एक नर्सको मृत्यु भएपछि देखिएको अनुमान गरिएको छ।

स्वास्थ्य अधिकारीहरूले परीक्षणका क्रममा इबोलाको ‘बुन्डिबुग्यो स्ट्रेन’ पुष्टि भएको बताएका छन्। यो भाइरस अहिले इटुरी प्रान्तका बुनिया, र्वाम्पारा र मोङवालु क्षेत्रमा फैलिरहेको छ।

विशेषज्ञहरूले यसपटक देखिएको स्ट्रेन पहिले कंगोमा बढी देखिने ‘जायर स्ट्रेन’भन्दा फरक भएको बताएका छन्। हाल प्रयोग भइरहेका धेरैजसो खोप र उपचार जायर स्ट्रेनलाई लक्षित गरेर विकास गरिएकाले नयाँ प्रकारको संक्रमणले थप चुनौती सिर्जना गरेको उनीहरूको भनाइ छ।

इबोला भाइरस पहिलोपटक सन् १९७६ मा कंगोमा पहिचान गरिएको थियो। त्यसयता देशमा पटक–पटक संक्रमण फैलिँदै आएको छ। अहिलेको प्रकोप कंगोमा देखिएको १७औँ इबोला संक्रमण मानिएको छ।