इबोला जोखिमपछि नेपालमा सतर्कता बढाइयो

२ हप्ता अगाडि
इबोला जोखिमपछि नेपालमा सतर्कता बढाइयो

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल’ घोषणा गरेपछि नेपालले पनि सतर्कता बढाएको छ ।

डब्लुएचओले कंगो र युगान्डामा फैलिएको इबोलाको अवस्थालाई गम्भीर मान्दै आइतबार सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । हालसम्म कंगोमा इबोलाका कारण करिब ८० जनाको मृत्यु भइसकेको छ भने २४६ भन्दा बढी शंकास्पद संक्रमण देखिएको छ ।

नेपालको स्वास्थ्य मन्त्रालयअन्तर्गत महामारी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कसहित सबै स्वास्थ्य निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ ।

महाशाखाका निर्देशक डा. अनुज भट्टराईले जोखिम मूल्यांकन र आवश्यक तयारीबारे सरोकारवालासँग छलफल गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार नेपालले विशेष गरी अन्तर्राष्ट्रिय यात्रु आवागमनलाई ध्यानमा राखेर निगरानी बढाएको छ ।

इबोला अत्यन्त संक्रामक भाइरल रोग हो । संक्रमित व्यक्तिको रगत वा शरीरका तरल पदार्थको सम्पर्कबाट सर्ने यो रोगको मृत्युदर निकै उच्च हुने चिकित्सकहरू बताउँछन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार इबोलाको मृत्युदर ८० देखि ९० प्रतिशतसम्म हुन सक्छ ।

नेपालले स्थलमार्गबाट संक्रमण भित्रिने जोखिम कम रहेको आकलन गरे पनि हवाई मार्गबाट आउने यात्रुमाथि निगरानी कडा बनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँच र निगरानीलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।