के हो हान्टाभाइरस ? नेपालमा जोखिम कति ?

२ हप्ता अगाडि
के हो हान्टाभाइरस ? नेपालमा जोखिम कति ?

काठमाडौं । पछिल्लो समय विश्वका केही देशमा हान्टाभाइरस संक्रमणबारे चर्चा बढिरहँदा नेपालमा पनि यसबारे चासो बढेको छ । सामाजिक सञ्जालमा विभिन्न अफवाह फैलिन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टाभाइरसको जोखिम अत्यन्त न्यून रहेको स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा हान्टाभाइरस संक्रमण पुष्टि भएको छैन । साथै, संक्रमण फैलाउने ‘एन्डिज भाइरस’ समूहका मुसा नेपालमा नपाइने भएकाले तत्काल ठूलो जोखिम नरहेको जनाइएको छ ।

के हो हान्टाभाइरस ?

हान्टाभाइरस मुसाबाट मानिसमा सर्ने दुर्लभ प्रकारको भाइरस हो । यो भाइरस मुख्यतः संक्रमित मुसाको पिसाब, दिसा वा र्‍यालमार्फत फैलिन्छ ।

मुसाले फोहोर गरेको स्थान सफा गर्दा वा त्यहाँको धुलो सासमार्फत शरीरभित्र पुगेमा संक्रमण हुन सक्छ । केही अवस्थामा संक्रमित वस्तु छोएर आँखा, नाक वा मुखमा हात लगाउँदा पनि संक्रमणको जोखिम रहन्छ ।

वैज्ञानिक अध्ययनअनुसार मानिसबाट मानिसमा संक्रमण फैलिने सम्भावना अत्यन्त कम हुन्छ । विशेषगरी ‘एन्डिज’ प्रकारको हान्टाभाइरसमा मात्रै सीमित रूपमा मानिसबाट मानिसमा सर्न सक्ने देखिएको छ ।

हान्टाभाइरसका लक्षण के–के हुन् ?

संक्रमण भएपछि सुरुमा सामान्य ज्वरो आएको जस्तो लक्षण देखिन सक्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार हान्टाभाइरसका मुख्य लक्षणमा :

  • ज्वरो आउने
  • टाउको दुख्ने
  • शरीर तथा मांसपेशी दुख्ने
  • थकान बढ्ने
  • वाकवाकी वा बान्ता हुने
  • पेट दुख्ने
  • सास फेर्न गाह्रो हुने

गम्भीर अवस्थामा फोक्सोमा असर पुग्न सक्ने र श्वासप्रश्वासमा जटिलता आउन सक्ने चिकित्सकहरू बताउँछन् ।

नेपालमा जोखिम किन कम ?

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा संक्रमण फैलाउने प्रमुख प्रकारका मुसा नपाइने भएकाले जोखिम न्यून छ ।

नेपालमा हालसम्म कुनै पुष्टि भएको बिरामी नभेटिएको र अवस्था नियन्त्रणबाहिर जाने सम्भावना नरहेको मन्त्रालयको भनाइ छ ।

यद्यपि, मुसाबाट सर्ने अन्य रोगजस्तै यसमा पनि सावधानी आवश्यक रहने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

कसरी बच्ने ?

स्वास्थ्य मन्त्रालयले हान्टाभाइरसबाट बच्न केही सामान्य सावधानी अपनाउन आग्रह गरेको छ ।

  • घर तथा वरपरको वातावरण सफा राख्ने
  • मुसा पस्न सक्ने प्वाल वा स्थान बन्द गर्ने
  • मुसाको फोहोर सफा गर्दा मास्क र पञ्जा प्रयोग गर्ने
  • धुलो उड्ने गरी सुक्खा फोहोर नबढार्ने
  • साबुनपानीले नियमित हात धुने
  • खाना खुला ठाउँमा नराख्ने

यदि ज्वरो, सास फेर्न गाह्रो हुने वा अन्य असामान्य स्वास्थ्य समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले अपुष्ट सूचना र सामाजिक सञ्जालमा फैलिएका अफवाहमा विश्वास नगर्न तथा आधिकारिक निकायबाट आउने जानकारीलाई मात्र आधार बनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।