काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै गोली चलेपछि सुरक्षा संयन्त्र उच्च सतर्कतामा गएको छ । घटनाका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस परिसरभित्रै रहेका थिए ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार गोली चलेपछि ह्वाइट हाउस क्षेत्र केही समयका लागि पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । घटनास्थल ह्वाइट हाउसबाट करिब एक ब्लक दूरीमा पर्ने १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु आसपास रहेको जनाइएको छ ।
अमेरिकी संघीय अनुसन्धान ब्यूरोका निर्देशक काश पटेलले घटनाको पुष्टि गरेका छन् । प्रारम्भिक जानकारीअनुसार एक व्यक्तिले अमेरिकी सिक्रेट सर्भिसका एजेन्टमाथि गोली चलाएको आशंका गरिएको छ । त्यसपछि सुरक्षाकर्मीले पनि जवाफी फायर गरेका थिए ।
स्थानीय स्रोतहरूका अनुसार घटनाका क्रममा १५ देखि ३० राउन्डसम्म गोली चलेको अनुमान गरिएको छ । गोलीकाण्डमा कम्तीमा दुईजना घाइते भएको जनाइएको छ, तर उनीहरूको अवस्था सार्वजनिक गरिएको छैन ।
घटनापछि ह्वाइट हाउसको ‘नर्थ लन’ तत्काल खाली गराइएको थियो । परिसरभित्र रहेका पत्रकार तथा कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको थियो । प्रेस ब्रिफिङ कक्षमा रहेका पत्रकारहरूलाई बाहिर ननिस्कन निर्देशन दिइएको बताइएको छ ।
अमेरिकी सुरक्षा निकायहरूले घटनालाई गम्भीर रूपमा लिएर आसपासको क्षेत्रमा अतिरिक्त सुरक्षा परिचालन गरेका छन् । घटनापछि केही समय सडक आवागमनसमेत नियन्त्रण गरिएको थियो ।
राष्ट्रपति ट्रम्प भने सुरक्षित रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । उनी घटनाको समयमा ह्वाइट हाउसभित्रै थिए ।
हाल घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । गोली चलाउने व्यक्तिको पहिचान र घटनाको उद्देश्यबारे अमेरिकी सुरक्षा निकायले थप जानकारी सार्वजनिक गरिसकेका छैनन् ।