काठमाडौं । अमेरिका र इरानबीच जारी वार्ता महत्वपूर्ण चरणमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नजिक पुगेको दाबी गरेका छन् भने विदेशमन्त्री मार्को रुबियोले पनि वार्तामा उल्लेखनीय प्रगति भएको बताएका छन्।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एक्सियोसले जनाएअनुसार दुई पक्षबीच तयार भइरहेको समझदारीपत्र (एमओयू) मा ६० दिनसम्म युद्धविराम लम्ब्याउने प्रस्ताव समावेश छ।
सम्झौताअनुसार इरानले हर्मुज जलमार्ग पूर्ण रूपमा खुला गर्ने, जहाजमाथि लगाइएका शुल्क हटाउने र समुद्री मार्गमा राखिएका अवरोध हटाउन सुरु गर्नेछ।
बदलामा अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने तथा तेल निर्यातमाथिका केही आर्थिक प्रतिबन्ध खुकुलो बनाउने तयारी गरेको बताइएको छ।
यस्तै, इरानले आणविक हतियार निर्माण नगर्ने प्रतिबद्धता जनाउने विषय पनि सम्झौतामा समावेश हुने जनाइएको छ। यद्यपि युरेनियम प्रशोधन कार्यक्रम कसरी अन्त्य गर्ने भन्ने विषयमा अझै छलफल जारी रहेको बताइएको छ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियनले भने सर्वोच्च नेता मोज्ताबा खामेनीको स्वीकृतिबिना कुनै अन्तिम सहमति नहुने स्पष्ट पारेका छन्।
यसबीच इजरायलले सम्भावित सम्झौताप्रति असन्तुष्टि जनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पसँग फोनवार्ता गरी आफ्नो चासो व्यक्त गरेको जनाइएको छ।