काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्धविराम सम्झौतामा हतार नगर्न आफ्ना वार्ताकारहरूलाई निर्देशन दिएको बताएका छन्।
सामाजिक सञ्जाल "ट्रुथ सोसल"मा लेख्दै ट्रम्पले वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भए पनि अन्तिम सहमति नभएसम्म नाकाबन्दी कायम रहने बताएका हुन्।
उनले सम्झौता प्रमाणित र हस्ताक्षर नभएसम्म इरानमाथिको दबाब जारी रहने उल्लेख गरेका छन्।
गत फागुन २८ गते अमेरिका र इजरायलले सुरु गरेको आक्रमणपछि इरानले हर्मुज जलमार्ग हुँदै हुने आवतजावतमा अवरोध गरेको भन्दै अमेरिकाले चैत १३ गतेदेखि इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको थियो।
यसैबीच अमेरिका र इरानबीच नयाँ युद्धविराम सम्झौताको खाका तयार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ट्रम्पले सन् २०१५ मा पूर्वराष्ट्रपति बाराक ओबामाको पालामा भएको आणविक सम्झौताको आलोचना गर्दै दुवै पक्षले पर्याप्त समय लिएर मात्र सहमति गर्नुपर्ने बताएका छन्।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले पनि दुई पक्षबीच १४ धाराको समझदारीपत्र अन्तिम चरणमा पुगेको बताएका छन्।