काठमाडौं । अफ्रिकी देश कंगोमा इबोला भाइरसको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि स्वास्थ्य निकायहरू चिन्तित बनेका छन्।
कंगो सरकारका अनुसार हालसम्म इबोलाका सम्भावित संक्रमितको संख्या नौ सय नाघेको छ भने ११९ जनाको मृत्यु भइसकेको छ।
संक्रमण विशेषगरी देशको पूर्वी क्षेत्रमा फैलिएको बताइएको छ। इतुरी प्रान्त सबैभन्दा बढी प्रभावित बनेको जनाइएको छ।
विश्व स्वास्थ्य संगठनले यस प्रकोपलाई कंगोका लागि गम्भीर स्वास्थ्य संकटका रूपमा व्याख्या गरेको छ।
यद्यपि हालसम्म विश्वव्यापी फैलावटको जोखिम भने कम रहेको बताइएको छ। विभिन्न देशहरूले आफ्ना नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै यात्रा सुझाव जारी गरेका छन्।
स्वास्थ्य निकायका अनुसार ‘बन्डिबुग्यो’ प्रकारको इबोला भाइरस संक्रमण फैलिनुको मुख्य कारण मानिएको छ। यो इबोलाको खतरनाक प्रकारमध्ये एक हो।
हालसम्म यसविरुद्ध प्रभावकारी खोप वा विशेष औषधि उपलब्ध नभएकाले संक्रमण नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताइएको छ।