काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सहमतिअघि नयाँ सर्त अघि सारेका छन्। उनले केही मुस्लिम बहुल राष्ट्रलाई इजरायलसँग सम्बन्ध विस्तारसम्बन्धी सहमतिमा सहभागी हुन आग्रह गरेका हुन्।
समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले साउदी अरब, कतार, पाकिस्तान, टर्की, इजिप्ट र जोर्डनलाई उक्त सहमतिमा सहभागी हुनुपर्ने बताएका छन्। उनले इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी पनि गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानसँगको वार्ता राम्रो भइरहेको उल्लेख गर्दै सफल सहमतिले सबैलाई फाइदा पुग्ने, अन्यथा ठूलो द्वन्द्व निम्तिन सक्ने चेतावनी दिएका छन्।
उनका अनुसार यो प्रक्रिया विशेषगरी साउदी अरब र कतारबाट सुरु हुनुपर्नेछ। उनले संयुक्त अरब इमिरेट्स र बहराइनसँग पनि यस विषयमा छलफल भएको बताएका छन्।
शनिबार ट्रम्पले विभिन्न मुस्लिम तथा अरब राष्ट्रका नेतासँग दूरभाष संवाद गरेका थिए। संवादमा साउदी अरबका युवराज मोहम्मद बिन सलमान, टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगान, इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी लगायत सहभागी रहेको जनाइएको छ।
यसअघि मोरक्को, संयुक्त अरब इमिरेट्स र बहराइन उक्त सहमतिमा सहभागी भइसकेका छन्। ट्रम्पले ती राष्ट्रहरूले आर्थिक, सामाजिक तथा रणनीतिक लाभ पाएको दाबी गर्दै आएका छन्।
तर धेरै मुस्लिम राष्ट्रले भने प्यालेस्टिनी मुद्दाको स्थायी समाधान नभएसम्म इजरायलसँग सम्बन्ध सामान्य बनाउन नसकिने अडान राख्दै आएका छन्।