काठमाडौं । अमेरिकी सेनाले इरानको क्युसिम टापुमा आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको मध्यपूर्व क्षेत्र हेर्ने कमाण्ड सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार इरानबाट भएको मिसाइल तथा ड्रोन आक्रमणको प्रयासको जवाफस्वरूप ‘आत्मरक्षाका लागि’ उक्त कारबाही गरिएको हो।
सेन्टकमले इरानले कुवेत, बहराइन तथा क्षेत्रीय जलक्षेत्रतर्फ ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरेको दाबी गर्दै तीमध्ये अधिकांशलाई निष्क्रिय पारिएको जनाएको छ। अमेरिकी पक्षका अनुसार कुवेततर्फ प्रहार गरिएका दुई मिसाइल लक्ष्यसम्म पुग्न सकेनन् भने बहराइनतर्फ प्रहार गरिएका तीन मिसाइल अमेरिकी र बहराइनी सुरक्षाबलले अवरोध गरेका थिए।
यस घटनापछि अमेरिकी सेनाले मंगलबार क्युसिम टापुस्थित इरानी सैन्य संरचनामाथि आक्रमण गरेको जनाएको छ। सेन्टकमले जारी गरेको विज्ञप्तिमा अमेरिकी सैनिक वा अधिकारीतर्फ कुनै क्षति नभएको र सम्भावित थप आक्रमणविरुद्ध आफ्ना फौज सतर्क अवस्थामा रहेको उल्लेख गरिएको छ।
यसअघि इरानी सञ्चारमाध्यमहरूले क्युसिम टापु आसपास विस्फोटको आवाज सुनिएको जनाएका थिए। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले भने अमेरिकी कारबाहीको प्रतिशोधस्वरूप क्षेत्रस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको छ।
पछिल्ला दिनहरूमा अमेरिका र इरानबीच तनाव लगातार बढिरहेको छ। अमेरिकाले यसअघि पनि इरानका राडार तथा ड्रोन नियन्त्रण केन्द्रहरूमा आक्रमण गरेको जनाएको थियो भने इरानले अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गर्दै आएको छ।
विश्व ऊर्जा आपूर्तिका दृष्टिले अत्यन्त संवेदनशील मानिने स्ट्रेट अफ हाेर्मुज आसपास एक साताभित्र भएको यो तेस्रो सैन्य टकराव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। बढ्दो तनावले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व ऊर्जा बजारमा समेत प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।