काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भविष्यमा भेटवार्ता गर्न इच्छुक रहेको बताएका छन्। उनले इरानमा जारी तनाव र युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक पहलमा खामेनीको महत्वपूर्ण भूमिका रहेको दाबी गरेका छन्।
अमेरिकी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा ट्रम्पले इरानका नागरिकले मोजतबा खामेनीलाई सम्मान गर्ने उल्लेख गर्दै उनी शान्ति प्रयासको केन्द्रमा रहेको बताए। उनले अनुकूल परिस्थिति बने भविष्यमा प्रत्यक्ष भेट हुन सक्ने संकेत पनि गरेका छन्।
युद्ध सुरु भएयता मोजतबा खामेनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। उनी लिखित सन्देशमार्फत मात्र सार्वजनिक धारणा व्यक्त गर्दै आएका छन्। अमेरिकी पक्षले भने प्रारम्भिक सैन्य आक्रमणका क्रममा उनी घाइते भएको दाबी गर्दै आएको छ, यद्यपि त्यसबारे स्वतन्त्र पुष्टि भएको छैन।
ट्रम्पले खामेनीको स्वास्थ्य अवस्थाबारे आफूलाई प्रत्यक्ष जानकारी नभएको बताउँदै सञ्चारमाध्यममा आएका विवरणमात्र आफूले देखेको प्रतिक्रिया दिएका छन्। उनले भविष्यमा संवाद र भेटवार्तामार्फत क्षेत्रीय तनाव कम गर्न सकिने विश्वास व्यक्त गरेका छन्।