युद्ध अन्त्यका लागि पुटिनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव, जेलेन्स्कीले मागे पूर्ण युद्धविराम

एक घण्टा अगाडि
युद्ध अन्त्यका लागि पुटिनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव, जेलेन्स्कीले मागे पूर्ण युद्धविराम

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका छन्। रुसी राष्ट्रपतिलाई लेखेको खुला पत्रमार्फत उनले युक्रेन र रुसबीचको युद्ध केवल प्रत्यक्ष संवादबाट मात्रै अन्त्य हुन सक्ने बताएका हुन्।

जेलेन्स्कीले प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्धविराम लागू गर्न पनि आह्वान गरेका छन्। उनले अमेरिका अन्य अन्तर्राष्ट्रिय संकटमा केन्द्रित भइरहेका बेला शान्ति प्रयासलाई थप ढिलाइ गर्नु उचित नहुने उल्लेख गरेका छन्।

तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने उक्त प्रस्ताव तत्काल स्वीकार गरेका छैनन्। रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसबारे पुटिनलाई जानकारी गराइने जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई नेताबीच प्रत्यक्ष भेटवार्ता हुन सके सकारात्मक परिणाम आउन सक्ने प्रतिक्रिया दिएका छन्।

बीबीसीका अनुसार जेलेन्स्कीको पत्रमा हालै रुसी भूमिमा युक्रेनले गरेका सैन्य कारबाहीहरूको संकेतसमेत गरिएको छ। पत्रमा उनले पुटिन लामो समयदेखि सत्तामा रहेको उल्लेख गर्दै प्रत्यक्ष भेटघाटका लागि औपचारिक निमन्त्रणा दिएका छन्।

यसबीच सेन्ट पिटर्सबर्गमा आयोजित कार्यक्रममा बोल्दै पुटिनले युक्रेनसँग सम्झौता गर्न आफू तयार रहेको बताए। तर त्यसका लागि दुवै पक्षले केही न केही सम्झौता गर्नुपर्ने उनको भनाइ थियो।

रुसले लामो समयदेखि डोनेत्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया क्षेत्रसम्बन्धी आफ्नो अडान कायम राख्दै आएको छ। साथै युक्रेनले नेटोमा आबद्ध हुने प्रयास त्याग्नुपर्ने माग पनि रुसको छ।

युक्रेनले भने आफ्नो भूभाग त्याग्ने कुनै पनि प्रस्ताव अस्वीकार गर्दै आएको छ। कीभको तर्कमा भूभाग सुम्पिनु भविष्यमा थप आक्रमणका लागि प्रोत्साहन बन्न सक्छ।

पछिल्ला महिनाहरूमा युद्धविरामका प्रयासहरू ठप्पजस्तै बनेका छन्। यसअघि जेनेभा, अबु धाबी र इस्तानबुलमा भएका विभिन्न शान्ति वार्ताहरू पनि ठोस निष्कर्षमा पुग्न सकेका थिएनन्।

झण्डै १८ सय शब्द लामो पत्रमा जेलेन्स्कीले युद्धका कारण युक्रेनले ठूलो मानवीय र भौतिक क्षति बेहोर्नुपरेको उल्लेख गर्दै थप जनधनको क्षति रोक्न शान्ति प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।