बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमणमा जाने भएका छन्। सन् २०१९ पछि पहिलोपटक हुन लागेको यो भ्रमणलाई चीन-उत्तर कोरिया सम्बन्धका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
सोमबारदेखि सुरु हुने दुईदिने भ्रमणका क्रममा सीले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। पछिल्ला वर्षहरूमा उत्तर कोरियाले रुससँग सम्बन्ध विस्तार गरिरहेका बेला चीनले पनि आफ्नो प्रभाव कायम राख्न खोजिरहेको विश्लेषण गरिएको छ।
उत्तर कोरियाले हालै आफ्नो आणविक कार्यक्रमलाई थप विस्तार गर्ने संकेत दिएको र क्षेत्रीय सुरक्षा चुनौती बढिरहेका बेला हुन लागेको यो भ्रमणले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ।
विश्लेषकहरूका अनुसार भ्रमणले चीन–उत्तर कोरिया सम्बन्ध मात्र नभई उत्तरपूर्वी एसियाको शक्ति सन्तुलनमा समेत प्रभाव पार्न सक्छ।