वासिङ्टन । अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक सहमति भएको घोषणा गरिएको छ।
वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले दुवै देशबीच शान्ति सम्झौता भएको पुष्टि गरेको हो। पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले विज्ञप्ति जारी गर्दै आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने जानकारी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सम्झौता भएको घोषणा गरेका छन्। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले समेत सहमतिको पुष्टि गरेका छन्।
सम्झौताअनुसार रणनीतिक महत्वको होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गरिनेछ। साथै, इरानमाथि लगाइएका प्रतिबन्ध र आणविक कार्यक्रमसँग सम्बन्धित विषयमा थप वार्ता हुने जनाइएको छ।
इरानी अधिकारीहरूका अनुसार कतारी मध्यस्थकर्ताहरूको सहभागितामा तेहरानमा झण्डै १५ घण्टा लामो वार्ता भएको थियो।
यसैबीच बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त विज्ञप्ति जारी गर्दै कूटनीतिक सफलताको स्वागत गरेका छन्।
यद्यपि सम्झौताका सबै प्रावधानहरू सार्वजनिक भइनसकेकाले थप विवरणको प्रतीक्षा गरिएको छ।