देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा तातो दिन रहने

२ घण्टा अगाडि
देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा तातो दिन रहने

काठमाडौं । नेपालमा पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न क्षेत्रमा आंशिक बदली र वर्षाको अवस्था कायम रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल हिमाली तथा पहाडी भूभागका साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।

त्यस्तै, कोशी प्रदेशका तराई क्षेत्रका केही स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा वर्षा जारी रहने सम्भावना रहेको छ।