अमेरिकामा बी-५२ बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

एक घण्टा अगाडि
अमेरिकामा बी-५२ बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा रहेको एडवड्र्स वायुसेना अखडामा बी-५२ स्ट्र्याटोफोर्ट्रेस बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एपीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ११:२० बजे उडान भरेको केही समयमै विमान पर्याप्त उचाइ लिन नसकी मोजावे मरुभूमि क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

प्रारम्भिक विवरणअनुसार विमानमा सवार सबै आठ जनाको मृत्यु भएको आशंका गरिएको छ।

दुर्घटनापछि घटनास्थलमा आपतकालीन उद्धार टोली परिचालन गरिएको थियो। हवाई दृश्यहरूमा विमान पूर्ण रूपमा क्षतिग्रस्त भएको र आसपासको क्षेत्रमा आगलागी भएको देखिएको थियो।

अमेरिकी सेनाले विमानमा हतियार रहेको वा नरहेको विषयमा कुनै जानकारी सार्वजनिक गरेको छैन। चालक दलका सदस्यहरूको परिचय पनि तत्काल खुलाइएको छैन।

उड्डयन सुरक्षाविज्ञ जेफ गुजेट्टीका अनुसार उडान भरेको केही समयमै दुर्घटना हुनु इन्जिन, उडान नियन्त्रण प्रणाली वा प्राविधिक उपकरणमा समस्या आएको संकेत हुन सक्छ। यद्यपि दुर्घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ।