काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित दुवै देशले ऐतिहासिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियानले डिजिटल माध्यमबाट उक्त दस्तावेजमा हस्ताक्षर गरेका हुन्। दुवै देशका अधिकारीहरूले समझदारी भएको पुष्टि गरेका छन्।
यस समझदारीसँगै अमेरिका र इरानबीचको सैन्य तनाव अन्त्यतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ। यद्यपि, जेनेभामा आगामी शुक्रबार हुने तय भएको उच्चस्तरीय बैठक भने यथावत् रहनेछ। त्यस बैठकमा दुवै पक्षका प्रतिनिधिमण्डलले आणविक कार्यक्रम, प्रतिबन्ध, क्षेत्रीय सुरक्षा र दीर्घकालीन सम्बन्धका विषयमा थप वार्ता गर्नेछन्।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईका अनुसार डिजिटल हस्ताक्षर भइसकेकाले स्विट्जरल्यान्डमा छुट्टै भौतिक हस्ताक्षर समारोह आयोजना गरिने छैन।
समझदारीमा ६० दिनभित्र अन्तिम र व्यापक सम्झौतामा पुग्ने लक्ष्य तय गरिएको छ। आवश्यक परे दुवै पक्षको सहमतिमा उक्त समयावधि थप गर्न सकिने व्यवस्था पनि राखिएको छ। मुख्य रूपमा इरानको आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध, समुद्री सुरक्षा र क्षेत्रीय स्थायित्वका विषयमा अन्तिम सहमति खोजिनेछ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने यो ६० दिने अवधि केवल वार्ताको समयसीमा भएको स्पष्ट पार्दै इरानले प्रतिबद्धता पालना नगरे पुनः सैन्य विकल्प प्रयोग गर्न सकिने चेतावनी दिएका छन्।
सम्झौतामा खाडी क्षेत्रमा सैन्य गतिविधि रोक्ने, समुद्री मार्गहरू सुरक्षित बनाउने र क्रमशः व्यापार तथा आर्थिक गतिविधि सामान्य अवस्थामा फर्काउने विषय पनि समावेश गरिएको बताइएको छ।
यसैबीच, इरानको पुनर्निर्माणका लागि ३०० अर्ब अमेरिकी डलरसम्मको सम्भावित लगानी तथा पुनर्निर्माण कोषको अवधारणा पनि सार्वजनिक भएको छ। तर यसको स्वरूप, स्रोत र कार्यान्वयन मोडालिटीबारे अझै अन्तिम निर्णय भइसकेको छैन। केही अमेरिकी अधिकारीहरूले यो प्रत्यक्ष अमेरिकी कोष नभई क्षेत्रीय साझेदार र निजी लगानीमार्फत सञ्चालन हुन सक्ने बताएका छन्। यसबारे विभिन्न विवरण सार्वजनिक भइरहेकाले अन्तिम संरचना अझै स्पष्ट हुन बाँकी छ।