लेबनानमा इजरायली आक्रमणपछि अमेरिका–इरान शान्ति वार्ता स्थगित

एक महिना अगाडि
लेबनानमा इजरायली आक्रमणपछि अमेरिका–इरान शान्ति वार्ता स्थगित

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच शुक्रबार स्विट्जरल्याण्डमा हुने तय भएको पहिलो चरणको ऐतिहासिक शान्ति वार्ता स्थगित भएको छ। लेबनानमा इजरायलले तीव्र सैन्य आक्रमण गरेपछि र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आफ्नो भ्रमण रद्द गरेपछि युद्ध अन्त्य गर्ने प्रयास अन्योलमा परेको हो।

फेब्रुअरी अन्त्यदेखि जारी द्वन्द्वलाई स्थायी रूपमा अन्त्य गर्ने उद्देश्यसहित केही दिनअघि मात्रै अमेरिका र इरानबीच अन्तरिम समझदारी भएको थियो। सोही समझदारीको आधारमा ६० दिने वार्ता प्रक्रिया सुरु गर्ने तयारी गरिएको थियो।

स्विट्जरल्याण्डको विदेश मन्त्रालयले अमेरिका, इरान, कतार र पाकिस्तानबीच प्रस्तावित वार्ता शुक्रबार नहुने पुष्टि गरेको छ। यद्यपि, आवश्यक पूर्वतयारी भने जारी रहेको जनाएको छ।

यसैबीच दक्षिणी लेबनानमा इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने चार इजरायली सैनिक पनि मारिएका छन्। इरानले लेबनानमा आक्रमण जारी रहे शान्ति सम्झौता पुनर्विचार गर्न सक्ने चेतावनी दिएको छ।