अमेरिका–इरान वार्तामा प्रारम्भिक प्रगति

एक महिना अगाडि
अमेरिका–इरान वार्तामा प्रारम्भिक प्रगति

जेनेभा । मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सुरु भएको अमेरिका-इरान वार्तामा प्रारम्भिक प्रगति भएको छ। दुवै पक्षले हर्मुज जलघाँटी खुला राख्ने र लेबनानमा पुनः द्वन्द्व भड्किन नदिन समन्वय संयन्त्र स्थापना गर्ने सहमति जनाएका छन्।

स्विस रिसोर्ट बुर्गेन्स्टकमा सम्पन्न पहिलो चरणको वार्तापछि पाकिस्तान र कतारले वार्ता सकारात्मक र रचनात्मक वातावरणमा भएको जनाएका छन्। हर्मुज क्षेत्रमा कुनै घटना वा गलत बुझाइका कारण तनाव नबढोस् भनेर प्रत्यक्ष सम्पर्क च्यानल स्थापना गरिएको छ भने लेबनानका लागि छुट्टै ‘डि-कन्फ्लिक्सन सेल’ गठन गरिएको छ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले प्रतिबन्ध खुकुलो पार्ने विषयमा पनि छलफल भएको बताएका छन्। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तालाई मध्यपूर्वको भविष्य परिवर्तन गर्न सक्ने ऐतिहासिक अवसरको संज्ञा दिएका छन्। यद्यपि इजरायल–हिजबुल्लाह तनाव पूर्ण रूपमा अन्त्य भइनसकेकाले शान्ति प्रक्रियाले अझै चुनौती सामना गरिरहेको छ।