काठमाडौं । सरकारले समयमै खरिद प्रक्रिया अघि नबढाउँदा देशभर एन्टीरेबिज (एआरभी) खोपको अभाव भएको छ।
विश्वव्यापी मूल्यवृद्धि र पश्चिम एशियामा जारी तनावका कारण खरिद प्रक्रिया प्रभावित भएपछि अस्पतालहरूमा खोपको आपूर्ति घटेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार करिब पाँच लाख भायल खोप खरिद प्रक्रिया अन्तिम चरणमा पुगे पनि आपूर्ति सुरु हुन सकेको छैन।
हाल विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर आकस्मिक रूपमा सीमित मात्रामा खोप उपलब्ध गराइएको छ। आइतबार मात्रै ४ हजार ५ सय भायल नेपाल आएको मन्त्रालयले जनाएको छ।
यसैबीच वर्षायाम सुरु भएसँगै सर्पदंशका बिरामी बढ्न थाले पनि एन्टिस्नेक भेनमको उपलब्धताबारे चिन्ता बढेको छ। सरकार भने पर्याप्त मौज्दात रहेको दाबी गरिरहेको छ।