काठमाडौं । आज (सोमबार) काठमाडौं उपत्यकासहित देशका ३३ जिल्लामा बाढीको जोखिम रहेकाले नदी तथा खोलानजिक बसोबास गर्ने स्थानीयलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरका खोला तथा नदीमा पानीको बहाव बढ्ने र बाढी आउन सक्ने सम्भावना छ।
यस्तै झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, चितवन, कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँके जिल्लामा पनि बाढीको जोखिम रहेको जनाएको छ।
त्यसैगरी बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुमपश्चिम, बैतडी, दार्चुला, डोटी (दिपायल क्षेत्र), डडेल्धुरा, अछाम तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलामा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
महाशाखाले नदी तटीय क्षेत्र, होचा भूभाग तथा खोला–नाला आसपास बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।