इरानको स्पष्ट भनाइ– अमेरिकासँग कुनै वार्ता हुँदैन

४ हप्ता अगाडि
इरानको स्पष्ट भनाइ– अमेरिकासँग कुनै वार्ता हुँदैन

काठमाडौं । इरानले अमेरिकासँग कुनै पनि स्तरमा वार्ता नहुने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा अमेरिका-इरान वार्ता हुने दाबी गरेपछि इरानले त्यसलाई अस्वीकार गरेको हो।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इरान र अमेरिकाबीच कुनै वार्ताको तयारी नभएको र अमेरिकी तथा इरानी प्रतिनिधिमण्डलको कतार भ्रमणबीच कुनै सम्बन्ध नरहेको बताएका छन्।

यस्तै, इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले पनि यस साताभित्र कुनै वार्ता हुने योजना नरहेको स्पष्ट पारेका छन्। ट्रम्पले भने इरानकै अनुरोधमा दोहामा दुवै देशका प्रतिनिधिबीच छलफल हुने दाबी गरेका थिए। इरानले उक्त दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै हाल वार्ताको कुनै सम्भावना नरहेको जनाएको छ।