नेपालमा हान्टा भाइरसको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति

३ हप्ता अगाडि
नेपालमा हान्टा भाइरसको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हाल नेपालमा हान्टा भाइरसको कुनै स्वास्थ्य जोखिम नरहेको स्पष्ट पारेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले हालसम्म नेपालमा हान्टा भाइरसको सामुदायिक संक्रमण वा प्रकोपको अवस्था नदेखिएको बताएका हुन्।

उनका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि हालै हान्टा भाइरससँग सम्बन्धित अन्तर्राष्ट्रिय निगरानीमा रहेको घटना समाप्त भएको र यसबाट सार्वजनिक स्वास्थ्यमा कुनै जोखिम नरहेको जनाएको छ।

हान्टा भाइरस एक दुर्लभ भाइरल संक्रमण हो, जुन मुख्यतः संक्रमित मुसाको पिसाब, दिसा, र्‍याल वा तिनले दूषित बनाएको वातावरणसँग प्रत्यक्ष सम्पर्कमा आउँदा मानिसमा सर्न सक्छ।

वैज्ञानिक अध्ययनअनुसार यो भाइरस मानिसबाट मानिसमा सर्ने सम्भावना अत्यन्त कम रहेको मन्त्रालयले जनाएको छ। यद्यपि सरसफाइमा ध्यान दिन र मुसाको सम्पर्कबाट जोगिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।