होर्मुज जलमार्गमा व्यापारिक जहाजमाथि आक्रमणपछि अमेरिकाको इरानमाथि सैन्य हमला

२ हप्ता अगाडि
होर्मुज जलमार्गमा व्यापारिक जहाजमाथि आक्रमणपछि अमेरिकाको इरानमाथि सैन्य हमला

काठमाडौं । होर्मुज जलमार्ग हुँदै गइरहेका कतार र साउदी अरेबियाका तेल ट्यांकरसहित तीनवटा व्यापारिक जहाजमाथि आक्रमण भएपछि अमेरिकाले इरानविरुद्ध व्यापक सैन्य कारबाही सुरु गरेको छ।

इरानी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अलजजिराले जनाएअनुसार इरानका रणनीतिक बन्दरगाह क्षेत्र बन्दर अब्बास, सिरिक र केश्म टापुमा ठूला विष्फोट भएका छन्। अमेरिकी आक्रमणले ती क्षेत्रका व्यापारिक तथा सैन्य पूर्वाधारलाई लक्षित गरेको जनाइएको छ।

यस सैन्य कारबाहीसँगै अमेरिकाले गत जुन १७ मा वासिङ्टन र तेहरानबीच भएको अन्तरिम शान्ति समझदारीअन्तर्गत इरानलाई तेल बिक्रीका लागि दिइएको ‘विशेष छुट’ पनि खारेज गरेको बताइएको छ।

रणनीतिक बन्दरगाहहरूमा क्षति

स्थानीय अधिकारीहरू र इरानी सरकारी टेलिभिजनका अनुसार केश्म टापुमा कम्तीमा छवटा शक्तिशाली विष्फोट भएका छन्। त्यहाँ रहेको एक प्रमुख घाटलाई मुख्य लक्ष्य बनाइएको जनाइएको छ।

त्यस्तै, होर्मुज जलमार्गको निगरानीका दृष्टिले महत्वपूर्ण मानिने सिरिक क्षेत्रमा सातदेखि नौवटा विष्फोट भएको बताइएको छ। प्रारम्भिक विवरणअनुसार त्यहाँका व्यावसायिक तथा माछा मार्ने घाटहरूमा क्षति पुगेको छ।

इरानको सबैभन्दा ठूलो बन्दरगाह सहर बन्दर अब्बासमा करिब १० वटा ठूला विष्फोट भएका छन्। प्रारम्भिक जानकारीअनुसार दूरसञ्चार टावरसहित तटीय पूर्वाधारमा क्षति पुगेको जनाइएको छ।

इरानको प्रतिक्रिया

इरानले भने व्यापारिक जहाजमाथि आक्रमण गरेको अमेरिकी आरोप अस्वीकार गरेको छ। इरानका उपविदेशमन्त्रीले अमेरिकी सैन्य कारबाहीलाई जुन १७ को अन्तरिम समझदारीको ठाडो उल्लंघन भएको बताएका छन्।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा होर्मुज जलमार्गमा इरानको अधिकार र नियन्त्रण उक्त समझदारीअनुसार निर्धारण भएको उल्लेख गर्दै जहाजको सुरक्षित आवतजावतका लागि इरानी पक्षसँग समन्वय आवश्यक रहेको दाबी गरिएको छ। समन्वयबिना हुने जहाज आवतजावतले सुरक्षा जोखिम बढाउन सक्ने तर्क पनि इरानले गरेको छ।