बेइजिङ । चीनका विभिन्न क्षेत्रमा आएको भीषण वर्षा, बाढी, आँधीबेहरी र पहिरोका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ।
टाइफुन मेसाकका कारण दक्षिणी गुआङ्सी क्षेत्रमा आएको बाढीमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने एक लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरूले जनाएका छन्। बाढीले ४० वटा नदी तथा जलमार्ग प्रभावित भएका छन् भने करिब १३ हजार एकड कृषि भूमि डुबानमा परेको छ।
गुआङ्सीमा जलाशयको बाँध फुटेपछि उद्धार टोलीले डुङ्गामार्फत राहत तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। प्रभावित क्षेत्रमा खाद्यान्न, रबर डुङ्गा र अन्य राहत सामग्री पठाइएको छ।
यसैबीच हुबेई प्रान्तमा आएको आँधीबेहरीमा ११ जनाको मृत्यु, ३३१ जना घाइते तथा हजारौँ घरमा क्षति पुगेको छ। गान्सु प्रान्तमा गएको पहिरोमा २१ जनाको मृत्यु भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार तथा राहत कार्यमा सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन् भने प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि विशेष राहत कोषसमेत घोषणा गरिएको छ।