होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाद्वारा सैन्य आक्रमण सुरु भएको दाबी

२ हप्ता अगाडि
होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाद्वारा सैन्य आक्रमण सुरु भएको दाबी

 

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि होर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेपछि अमेरिका-इरानबीचको तनाव थप चर्किएको छ। अमेरिकी पक्षले इरानविरुद्ध नयाँ शृंखलाबद्ध सैन्य कारबाही सुरु गरेको जनाएको छ।

 

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार बन्दर अब्बास, सिरिक, चाबहार, बन्दर-ए देइर र असालुयेहलगायत रणनीतिक बन्दरगाह सहरहरूमा विष्फोट भएका छन्। इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले बन्दर अब्बास र सिरिकमा तीन/तीनवटा तथा चाबहारमा दुईवटा विष्फोट भएको जनाएको छ। यस्तै, बुशेहर प्रान्तको बन्दर–ए देइरमा पाँच र असालुयेहमा चारवटा विष्फोट भएको उल्लेख गरिएको छ।

 

यद्यपि विष्फोटको कारण, क्षतिको अवस्था वा सम्भावित मानवीय क्षतिबारे अहिलेसम्म कुनै आधिकारिक विवरण सार्वजनिक भएको छैन। सम्बन्धित निकायले घटनाबारे थप जानकारी संकलन गरिरहेको बताइएको छ।

 

यसैबीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल ‘एक्स’मार्फत इरानले "गलत निर्णय" गरेको र त्यसको परिणाम भोगिरहेको बताएका छन्।

 

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले गरेको आक्रमणको जवाफस्वरूप यस साताको तेस्रो चरणको सैन्य कारबाही सञ्चालन गरिएको जनाएको छ।

 

इरानी पक्षले भने उक्त जहाजले स्वीकृत समुद्री मार्ग परिवर्तन गरी आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेको आरोप लगाउँदै त्यसविरुद्ध कारबाही गरिएको दाबी गरेको छ। चिनियाँ र इरानी सरकारी सञ्चारमाध्यमका अनुसार जहाजले निर्धारित समुद्री मार्ग उल्लंघन गरेपछि कारबाही गरिएको हो।

 

सेन्टकमका अनुसार मिसाइल आक्रमणबाट जहाजको इन्जिन कक्षमा ठूलो क्षति पुगेको छ, जसका कारण जहाजले यात्रा जारी राख्न नसक्ने अवस्था सिर्जना भएको छ। घटनामा चालक दलका एक सदस्य अझै बेपत्ता रहेको पनि जनाइएको छ।

 

सेन्टकमले जारी गरेको विज्ञप्तिमा व्यापारिक जहाजमाथिका अघिल्ला आक्रमणपछि इरानलाई समझदारीप्रति प्रतिबद्धता देखाउने अवसर दिइएको भए पनि उसले पुनः त्यसको उल्लंघन गरेको आरोप लगाएको छ।

 

यसअघि पनि ओमानको जलक्षेत्र हुँदै अमेरिकाले सिफारिस गरेको समुद्री मार्ग प्रयोग गरिरहेका तीनवटा व्यापारिक तेल ट्यांकरमाथि आक्रमण भएको थियो। इरानले भने आफ्नो जलक्षेत्र हुँदै जाने मार्ग नै सुरक्षित रहेको दाबी गर्दै आएको छ। यस घटनाक्रमसँगै मध्यपूर्वमा सुरक्षा र समुद्री व्यापारसम्बन्धी चिन्ता थप बढेको छ।