बैंककको लोकप्रिय पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ घाइते

२ हप्ता अगाडि
बैंककको लोकप्रिय पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ घाइते

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककको उत्तरी क्षेत्रमा रहेको एक लोकप्रिय पबमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। अलजजिराका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चानभिराकुलले घटनास्थलबाटै टेलिभिजनमार्फत प्रतिक्रिया दिँदै २७ जनाको शव फेला परेको पुष्टि गरेका छन्। उनले घाइतेहरूको अवस्था बुझ्ने काम भइरहेको पनि बताएका छन्।प्रधानमन्त्रीका अनुसार घटनाका बेला पबमा प्रस्तुति दिइरहेका एक संगीतकारले बिजुली जानुअघि मञ्च नजिकको सर्किट ब्रेकरबाट धुवाँ निस्किएको देखेका थिए। त्यसलगत्तै ठूलो विस्फोटको आवाज सुनिएको र केही क्षणमै पबभित्र बाक्लो धुवाँ फैलिएको उनले बताएका छन्।

अधिकांश मृतक पबको पछाडिपट्टि रहेको शौचालय क्षेत्रमा फेला परेको प्रधानमन्त्री चानभिराकुलले जानकारी दिएका छन्।

उद्धारकर्मीहरूले सार्वजनिक गरेको भिडियोमा ‘ना लाडप्राओ’ पबको मुख्य प्रवेशद्वारबाट आगोको ठूलो लप्का र बाक्लो कालो धुवाँ निस्किएको देखिन्छ। आगलागीपछि मानिसहरू ज्यान जोगाउन भागिरहेका दृश्य पनि भिडियोमा कैद भएका छन्।

उद्धारकर्मीहरूका अनुसार मध्यराततिर आगलागी भएको सूचना प्राप्त भएपछि दमकल टोली घटनास्थल पुगेको थियो। करिब आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो।

दुर्घटनापछिका तस्बिरहरूमा पबभित्रका मेच–कुर्सी जलेर नष्ट भएको तथा भित्री संरचनामा ठूलो क्षति पुगेको देखिएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।