अमेरिकी आक्रमणमा ३० भन्दा बढीको मृत्यु भएको इरानको दाबी

१ हप्ता अगाडि
अमेरिकी आक्रमणमा ३० भन्दा बढीको मृत्यु भएको इरानको दाबी

काठमाडौं । इरानले पछिल्ला अमेरिकी हवाई आक्रमणमा ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको दाबी गरेको छ। इरानी सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानीका अनुसार आक्रमणमा २६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

अमेरिकाले बुधबार सात घण्टा लामो हवाई अभियान सञ्चालन गर्दै इरानका दर्जनौँ सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको थियो। साथै इरानी बन्दरगाहहरूमा पुनः नौसैनिक नाकाबन्दी लागू गरिएको पनि अमेरिकी पक्षले जनाएको छ।

इरानले अमेरिकी कारबाहीले यसअघि नै नाजुक अवस्थामा रहेको युद्धविरामलाई थप कमजोर बनाएको आरोप लगाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख एडमिरल ब्राड कुपरले भने इरानले छिमेकी अरब राष्ट्रतर्फ मिसाइल र ड्रोन प्रहार गरेपछि जवाफस्वरूप कारबाही गरिएको बताएका छन्।

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गरेपछि होर्मुज जलडमरूमध्य आसपासको सुरक्षा अवस्था थप जटिल बनेको छ। विश्वकै प्रमुख ऊर्जा आपूर्ति मार्ग मानिने यस जलमार्गमा असुरक्षाका कारण अन्तर्राष्ट्रिय तेल बजारसमेत प्रभावित हुँदै आएको छ।

विश्लेषकहरूका अनुसार जलमार्ग सुरक्षित राख्न व्यापक नौसैनिक उपस्थिति आवश्यक पर्ने देखिएको छ।