लन्डन । लेबर पार्टीको नेतृत्व जितेका एन्डी बर्नहम सोमबार बेलायतका नयाँ प्रधानमन्त्री बन्दै छन्। पूर्वप्रधानमन्त्री कियर स्टार्मरले पदबाट राजीनामा दिएपछि बर्नहमले सरकारको नेतृत्व सम्हाल्न लागेका हुन्।
५६ वर्षीय बर्नहम बेलायतको ग्रेटर म्यानचेस्टरका लोकप्रिय मेयरका रूपमा परिचित छन्। क्षेत्रीय विकास, जनमैत्री नेतृत्व र कोभिड–१९ महामारीका बेला उत्तरी इङ्ल्यान्डको पक्षमा खुलेर आवाज उठाएका कारण उनलाई 'किङ अफ द नर्थ' अर्थात् ‘उत्तरका राजा’ भनेर पनि चिनिन्छ।
राजा चार्ल्स तृतीयले स्टार्मरको राजीनामा स्वीकृत गरेपछि बर्नहमलाई बकिङ्घम दरबारमा सरकार गठनको औपचारिक निमन्त्रणा दिनेछन्। निमन्त्रणा स्वीकार गरेसँगै उनी बेलायतका ५९औँ प्रधानमन्त्री बन्नेछन्। त्यसपछि उनी प्रधानमन्त्री निवास १० डाउनिङ स्ट्रिट पुगेर पहिलो सम्बोधन गर्ने र मन्त्रिपरिषद् गठन सुरु गर्नेछन्।
बेलायतको संसदीय व्यवस्थाअनुसार सत्तारूढ दलले नयाँ नेता चयन गरेपछि नयाँ आमनिर्वाचन आवश्यक पर्दैन। लेबर पार्टीसँग संसदमा स्पष्ट बहुमत रहेकाले बर्नहम स्वतः प्रधानमन्त्री बन्नेछन्।
नयाँ प्रधानमन्त्री बनेपछि उनले सुस्त अर्थतन्त्र, बढ्दो महँगी, सार्वजनिक सेवा सुधार तथा क्षेत्रीय विकासलाई प्राथमिकतामा राख्ने संकेत दिएका छन्। उनले देशका सबै क्षेत्र र समुदायलाई समान अवसर दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।