नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कक्रोज जनता पार्टी (सिजेपी) ले आयोजना गरेको ‘चलो संसद’ मार्च प्रदर्शन तनावपूर्ण बनेपछि संसद भवन आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।
जन्तर-मन्तरबाट सुरु भएको प्रदर्शन संसद भवन नजिक पुगेसँगै प्रदर्शनकारीहरूले सुरक्षा ब्यारिकेड तोड्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सोमबारदेखि भारतको संसदको मनसुन अधिवेशन सुरु भएको थियो। संसदभित्र बैठक चलिरहेका बेला बाहिर प्रदर्शन चर्किएपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेका थिए। केही समयपछि संसद बैठक स्थगित गरिएको थियो।
यसबीच प्रधानमन्त्री नरेन्द्र मोदी संसद भवनबाट बाहिरिएका छन्। सुरक्षा संवेदनशीलता बढेपछि संसद परिसरमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रदर्शनको नेतृत्व गरिरहेका कक्रोज जनता पार्टीका संस्थापक अभिजित दिप्केलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनापछि प्रदर्शनकारी र प्रहरीबीच केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि अहिले स्थिति नियन्त्रणमा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।