नयाँ दिल्ली । भारत सरकारले पहिलोपटक डेंगीविरुद्धको खोप प्रयोग गर्न स्वीकृति दिएको छ। भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन (सीडीएससीओ)ले जापानी औषधि कम्पनी टाकेडाको ‘क्युडेंगी’ खोपलाई ४ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा डेंगी रोकथामका लागि प्रयोग गर्न अनुमति दिएको हो।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्यांकनपछि स्वीकृति प्रदान गरिएको हो। ‘क्युडेंगी’ खोप दुई मात्रा लगाइन्छ, जसको दोस्रो मात्रा पहिलोपटक खोप लगाएको तीन महिनापछि दिइन्छ।
मन्त्रालयका अनुसार यो खोपले डेंगी भाइरसका चारै सेरोटाइपविरुद्ध सुरक्षा प्रदान गर्ने क्षमता राख्छ। यसअघि नै ‘क्युडेंगी’ युरोपेली संघ, बेलायत, स्विट्जरल्यान्ड, इन्डोनेसियालगायत ४२ देशमा स्वीकृत भइसकेको छ भने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट ‘प्रिक्वालिफिकेसन’ पनि प्राप्त गरिसकेको छ।
हालसम्म विश्वभर यस खोपका २ करोड ४० लाखभन्दा बढी मात्रा वितरण भइसकेका छन्। उपलब्ध तथ्यांकअनुसार यसको सुरक्षासम्बन्धी कुनै ठूलो चिन्ताजनक समस्या देखिएको छैन। टाकेडाले भारतमै उत्पादन क्षमता विस्तार गर्न खोप निर्माता कम्पनी ‘बायोलोजिकल ई’सँग सहकार्य गरिरहेको छ।
डेंगी संक्रमण बढिरहेका बेला भारतमा खोपको स्वीकृतिलाई सार्वजनिक स्वास्थ्यका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको करिब आधा जनसंख्या डेंगीको जोखिममा छ भने हरेक वर्ष १० करोडदेखि ४० करोडसम्म संक्रमण हुने अनुमान छ।
भारतमा सन् २०२१ यता १० लाखभन्दा बढी डेंगी संक्रमण पुष्टि भइसकेका छन् भने कम्तीमा १,५०० जनाको मृत्यु भएको छ।
यसैबीच, भारतीय कम्पनी ‘प्यानासिया बायोटेक’ले विकास गरिरहेको ‘डेंगीअल’ नामक डेंगी खोप अन्तिम चरणको क्लिनिकल परीक्षणमा रहेको छ। स्वीकृति पाएमा यो विश्वकै प्रारम्भिक ‘सिंगल डोज’ डेंगी खोपमध्ये एक बन्न सक्ने अपेक्षा गरिएको छ।