बर्डफ्लुका कारण उत्पादन घटेपछि अण्डाको मूल्य बढ्यो

६ दिन अगाडि
बर्डफ्लुका कारण उत्पादन घटेपछि अण्डाको मूल्य बढ्यो

चितवन । बर्डफ्लुका कारण अण्डा उत्पादन घटेपछि नेपाली बजारमा अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको तर माग बढ्दै गएपछि नेपाल लेयर्स कुखुरापालक संघले नयाँ मूल्य निर्धारण गरेको हो।

संघका अनुसार आजदेखि ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४५० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ कायम गरिएको छ। मध्यम अण्डाको मूल्य ४२० रुपैयाँबाट ४७० रुपैयाँ पुर्‍याइएको छ भने सानो अण्डाको मूल्य ४१५ रुपैयाँ निर्धारण गरिएको छ। सबै आकारका अण्डामा प्रतिक्रेट ५० रुपैयाँले मूल्य वृद्धि गरिएको हो।

संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार दैनिक करिब ४५ लाख अण्डा उत्पादन हुँदै आएकोमा बर्डफ्लुको प्रभावपछि उत्पादन घटेर २८ लाख हाराहारीमा झरेको छ।

उनका अनुसार जेठको अन्तिमतिर प्रतिक्रेट अण्डाको मूल्य ५५० रुपैयाँ पुगेको थियो। त्यसपछि मूल्य घटेर ४५० रुपैयाँसम्म झरे पनि पछिल्लो समय माग बढेसँगै फेरि उकालो लागेको हो।

पोखरेलले एक क्रेट अण्डाको उत्पादन लागत ५७३ रुपैयाँ ६० पैसा पर्ने बताए। हालको मूल्य वृद्धिपछि पनि किसानले लागत मूल्य प्राप्त गर्न नसकेको उनको भनाइ छ।

उनले बर्डफ्लुबाट प्रभावित किसानले ठूलो आर्थिक क्षति व्यहोरेकाले राहत तथा पुनर्स्थापनाका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने माग समेत गरेका छन्।