एनसेलको सेयर कारोबारमा प्राधिकरणको स्वीकृति अनिवार्य : सर्वोच्चको निर्देशन

एक महिना अगाडि
एनसेलको सेयर कारोबारमा प्राधिकरणको स्वीकृति अनिवार्य : सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद-बिक्री गर्दा नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति अनिवार्य हुने स्पष्ट गर्दै सम्बन्धित पक्षलाई कानुनको पूर्ण पालना गर्न निर्देशन दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले २०८१ पुस ११ गते रिट खारेज गरे पनि हाल सार्वजनिक भएको पूर्णपाठमार्फत एनसेल र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशनात्मक आदेश जारी गरेको हो।

अदालतले दूरसञ्चार ऐन, दूरसञ्चार नियमावली, प्राधिकरण विनियमावली तथा अनुमतिपत्रका सबै सर्त अक्षरशः पालना गर्दै पारदर्शी र कानुनसम्मत रूपमा सेवा सञ्चालन गर्न एनसेललाई निर्देशन दिएको छ।

सर्वोच्चले पाँच प्रतिशतभन्दा बढी सेयर खरिद–बिक्रीअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था स्मरण गराउँदै भविष्यमा प्रक्रिया पूरा गरेर मात्र सेयर हस्तान्तरण गर्न भनेको छ।

एनसेलको ८० प्रतिशत सेयर २०८० मंसिरमा आजियाटा इन्भेष्टमेन्ट (युके) ले स्पेक्ट्रलाइट (युके) लाई बिक्री गर्ने सम्झौता गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो।

अदालतले सेयर कारोबारलाई अवैध घोषणा नगरे पनि नियामक निकायले प्रभावकारी नियमन गर्नुपर्नेमा जोड दिएको छ। आदेशअनुसार प्राधिकरणले आवश्यक परे कानुनबमोजिम जरिवाना, निर्देशन वा अनुमतिपत्रसम्बन्धी कारबाही गर्न सक्ने बाटो खुला रहेको छ।