काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकाले वर्षाको गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। मधेस तथा कोसी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
राति पनि वर्षाको सम्भावना
राति देशभर साधारणतया बदली रहने विभागको अनुमान छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
मधेस तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा र सुदूरपश्चिमको तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
रातिको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक देखिएको छ।
वर्षाका कारण सडक तथा यातायातमा असर पर्न सक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।