बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपाबाट तीन जना नयाँ मन्त्री नियुक्त गरेका छन्।
मुख्यमन्त्री आचार्यले दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन्।
नवनियुक्त मन्त्रीहरूको शपथ मंगलबार दिउँसो ३ः२५ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने तय भएको छ।
पुनर्गठनसँगै रामजीप्रसाद घिमिरेलाई स्वास्थ्यबाट सामाजिक विकास, तुलसीप्रसाद चौधरीलाई कृषि मन्त्रालयबाट वन, वातावरण तथा पर्यटन र सन्तोषकुमार पाण्डेयलाई सामाजिक विकासबाट शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।
सत्ता साझेदारीअनुसार प्रदेश सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित चार, नेकपाबाट तीन र जसपा नेपालबाट दुई मन्त्री रहनेछन्।