काठमाडौं । बाराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणलाई लिएर सांसदहरूले सरकारको आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरूले दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्।
कांग्रेस सांसद प्रमिलाकुमारी गच्छदारले पीडित परिवारसँग राहत र सहमतिभन्दा न्याय सुनिश्चित गर्नुपर्ने बताइन्। ‘एउटा सालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ?’ भन्दै उनले जघन्य अपराधमा मिलापत्र गराउनेलाई समेत कारबाही गर्न माग गरिन्।
रास्वपा सांसद श्रद्धा कुँवर क्षेत्रीले अपराधको प्रकृतिअनुसार कडा कानुनी कारबाही हुनुपर्ने बताइन्। नेकपा सांसद बलावती शर्माले घटनाले राज्यलाई नै गम्भीर प्रश्नको घेरामा पारेको भन्दै पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ति दिन माग गरिन्।